FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको मधेश प्रदेश, बारा जिल्लामा अवस्थित निजगढ नगरपालिका यस जिल्लामा रहेका १६ वटा स्थानीय तहहरु मध्येको १ स्थानीय तह र ५ वटा नगरपालिकाहरु मध्येको एक नगरपालिकामा पर्दछ। वि.सं. २०७१ साल वैसाख २५ गते विधिवत् रुपमा नगरपालिका घोषित भएको निजगढ नगरपालिका साबिकको निजगढ गा.वि.स., भरतगंज सिंगौल गा.वि.स. तथा रतनपुरी गा.वि.स. को सम्पूर्ण क्षेत्रहरु गाभिई कायम भएको हो ।

प्राकृतिकरुपमा अत्यन्त सुरम्य निजगढ नगरपालिका उत्तर तर्फ चुरे पहाडको उचाइ देखि दक्षिणको समतल मैदान सम्म फैलिएको विविधतायुक्त वन, वनस्पति, हावापानी तथा सांस्कृतिकरुपले समृद्ध हरियालीपूर्ण भूगोल हो । यस नगरपालिकाको कुल क्षेत्रफल २८९.४ वर्ग कि.मि. रहेको छ भने यस नगरपालिकामा १३ वटा वडाहरु रहेका छन् । नेपालको पूर्व पश्चिम राजमार्ग समेतले छिचोलेको निजगढ नगरपालिकामा विभिन्न जात जाति तथा समुदायको मिश्रित बसोबास रहेको छ । यस नगरपालिकाको जनसंख्या हाल करीब ५० हजारको हाराहारीमा रहको अनुमान छ ।

निजगढ नगरपालिका वि.सं. २०७२ साल फाल्गुन ३ गते खुल्ला दिसामुक्त घोषणा हुनुका साथै वि.सं. २०७३ सालमा पूर्ण रुपमा साक्षर घोषणा भएको नगरपालिका हो । यस नगरपालिकामा १ वटा बहुमुखी क्याम्पस, ७ वटा सामुदायिक माध्यमिक विद्यालयहरु, २० वटा आधारभुत विद्यालयहरु र १२ वटा संस्थागत विद्यालयहरु रहेका छन् । त्यसैगरी,  स्वास्थ्य संस्था तर्फ १ प्राथमिक स्वास्थ्य केन्द्र, ३ स्वास्थ्य चौकीहरु, ४ आधारभूत स्वास्थ्य केन्द्रहरु र एउटा संस्थागत अस्पताल संचालनमा रहेका छन्।

बकैया खोला, धन्सार खोला, भमरा खोला, बगर खोला, लाल खोला, भक्तलाल खोला, गढवन, शक्तिखोला जस्ता विभिन्न साना ठूला खोलानालाहरु यस नगरपालिका भई बग्ने खोलानालाहरु हुन्। यस नगरपालिकाको सिंगौलमा रहेको झरना तथा वडा नं. १३ स्थित शक्ति खोला क्षेत्र पर्यटकीय दृष्टिकोणले निकै आकर्षक रहेको छ । जीविकोपार्जनको मुख्य श्रोत कृषि पेशा रहेको यस नगरपालिकाको अधिकांश क्षेत्र वनजंगल तथा खोलानालाहरुले ओगटेको छ । निजगढ नगरपालिका केरा क्षेत्र (Banana Zone) को रुपमा समेत विकसित भइरहेको छ । यस नगरपालिकामा माउन्टेन बाइकिङ, जिपलाइन, ट्रेकिङ तथा इको टुअरिज्म, होमस्टे लगायतका  पर्यटकीय एडभेन्चरहरु प्रबर्द्धन गरी नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य (Tourist Destination) बनाउन सकिने प्रचुर संभाव्यताका साथै यस नगरपालिकालाई औद्योगिक तथा शैक्षिक हबको रुपमा विकास गर्न सकिने समेत उत्तिकै संभावनाहरु विद्यमान् रहेको छ ।

 यस नगरपालिकामा पर्यटकीय सम्भावना बोकेका शहिद हिरालाल पार्क, भ्यू टावर, मोहरी पार्क, हरि डाँडा, शिव सत्येश्वर मन्दिर, पर्वतनाथ महादेव मन्दिर, कृष्ण मन्दिर, रामजानकी मन्दिर, पल्युन साम्तेलिङ गुम्बा, हलखोरिया दह लगायत अन्य मठ मन्दिर, गुम्बा चर्च, मदरसा आदि रहेका छन् भने यस क्षेत्रमा बसोबास रहेको आदिवासी जनजाति कछडिया समुदायको संग्राहलय समेत निर्माणको क्रममा रहेको  छ । दशैं, तिहार, ल्होसार, फागु पुर्णिमा, बुद्ध पूर्णिमा, माघी यस नगरपालिकामा मनाइने मुख्य चाडपर्वहरु हुन् । प्रत्येक बर्ष बाला चतुर्दशीका दिन यस नगरपालिका क्षेत्रको बकैया खोला किनारमा ठूलो मेला लाग्ने गर्दछ ।

निजगढ नगरपालिका निर्माणाधीन तराई मधेस द्रुत मार्ग एवं निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरवका आयोजनाहरु सँग जोडिएको विकासको दृष्टिकोणले उच्च सम्भावनायुक्त नगरपालिका हो। यस नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने परिकल्पना गरी सोही अनुरुप स्थानीय सरकारको रुपमा निजगढ नगरपालिकाद्वारा विभिन्न कार्यहरु अघि बढिरहेको छ ।

 

User login